भोलीदेखि यातायातमा जोरबिजोर प्रणाली हटाउन र फागुन १ गतेबाट विद्यालय खोल्न सिफारिस
- माघ २३, २०७८
- 0
काठमाडौं उपत्यकामा निजी सवारी साधन र ट्याक्सीमा लागू जोरबिजोर प्रणाली हटाउन सीसीएमसीसीले सिफारिस गरेको छ ।
कोरोना सङ्क्रमणदर घट्दै गएको भन्दै सीसीएमसीसीको आज बसेको बैठकले जोरबिजोर हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन । अहिले जोरबिजोर प्रणाली निजी सवारी साधान र ट्याकसीहरुमा लागू छ ।
त्यस्तै, रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खानालगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको समेत उनले बताइन ।
यस्तै, कोरोनाको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको विद्यालय खोल्न सरकार समक्ष सिफारिस गरिएको छ ।
सीसीएमसीसीको आज बसेको बैठकले आगामी फागुन १ गतेदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको पनि प्रवक्ता नेपालले जानकारी दिइन ।
‘विद्यालय फागुन १ गतेबाट खोल्ने । विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने ।,’ उनले भनिन, ‘१२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरि सिफारिस भएको छ ।’
कोरोनाको तेस्रो लहर ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् ।
पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।










