नारायणहिटीमा लाग्ने ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ स्थगित
- माघ १८, २०७८
- 0
नारायणहिटी दरवार संग्रालयमा रहेको पुजा घरमा लाग्ने भनिएको महायज्ञ बढ्दै गएको कोरोना महामारीका कारण स्थगित भएको छ ।
नारायणहिटी दरवार संग्रालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन बिकास समितिले माघ १९ देखि माघ २९ गतेसम्म संग्रालयभित्र लाग्ने भनिएको ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ स्थगित गरेको जनाएको छ ।
दरवार संग्रालयको पुजा घरमा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ लगाउने अन्तिम तयारी भैरहदा कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको समितिका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
संग्रालय परिसरमा आज एक पत्रकार सम्मेलन गरी कुँवरले तत्कालका लागि महायज्ञ स्थगित गरिएपनि कोरोना संक्रमण अलि घटेपछि फेरि महायज्ञ आयोजना गरिने बताए ।
कोरोना संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि तथा सबै गुरुहरुको एउटै धारणा नआउदा मन्त्रालयको पत्रअनुसार महायज्ञ स्थगित गरिएको बताउँदै उनले भने –‘समितिसँग सल्लाह गरेर र संयुक्त साइत जुराएर अब नारायणहीटीमा मात्र होइन हेटौडामा र झापामा पनि हामी महायज्ञ गर्छौ ।’
दरबार हत्याकाण्डमा ज्यान गुमाएकाहरु, देश–विदेशमा मृत्युवरण गर्न पुगेका नेपाललीहरु तथा भुकम्प तथा कोरोनाका कारण मृत्यु भएका सम्पूर्ण नेपालीको आत्माका शान्तिका लागि ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ लगाउन लागिएको कुँवरले बताए ।
यसअघि समितिका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा पुस १२ गते बसेको बैठकले नारायणहिटीभित्र महायज्ञ लगाउने प्रस्तावलाई स्वीकृत गरेको थियो ।











