सर्लाहीमा रात्रीबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु,१३ जना घाइते

news-details

जनार्जन खत्री/ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राती रात्रीबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ नम्वरको रात्रीबस शनिबार राती ९ बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलस्थित राजमार्गमा ना २९ प ४४९८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । मृतक खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलका चालक घारिबथानकै २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन । खड्कालाई लालबन्दीमा उपचार हुन नसकेपछि वीरगञ्ज रेफर गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए ।

ढुङ्गानाका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि बस समेत पल्टिएको थियो । दुर्घटनामा बसमा सवार ४० जना यात्रुमध्ये १२ जना घाइते भएका छन् । घाइते सात जना उपचार पश्चात डिस्चार्ज भइसकेका, चार जनाको लालबन्दीमै उपचार चलिरहेको र एक जनालाई थप उपचारका लागि सिरहातर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसका चालक फरार भएका छन् । प्रहरीले दुर्घटनामा परेको बस घटनास्थलबाट उठाएर शनिबार राती २ बजे बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगञ्ज लगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया