स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न शनिबार सत्तारुढ गठबन्धनको बैठक बस्दै
- माघ १४, २०७८
- 0
स्थानीय तहको निर्वाचनका सम्बन्धमा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शनिबार बस्ने भएको छ ।
शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीचको छलफलले शनिबार गठबन्धन बैठक तय गरेको हो।
प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार शीर्ष नेताको बैठकले शनिबारका लागि गठबन्धनको बैठक तय गरेको हो । ‘शनिबार गठबन्धनको बैठक बस्ने तय भएको छ’, देउवाले भने, ‘समय भोलि नै तय हुनेछ।’
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थानीय तहको निर्वाचनको विषयमा शीर्ष नेताबीच छलफल भएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । शीर्ष नेताको भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
शनिबारको बैठकमा स्थानीय तहको निर्वाचनको विषयमा विषयमा ठोस छलफल हुनेछ।
शुक्रबारको बैठकमा राष्ट्रियसभा सदस्यको निर्वाचनको समीक्षा पनि भएको शर्माले बताए । राष्ट्रिय सभाको रिक्त १९ पदका लागि भएको निर्वाचनमा गठबन्धनका १८ उम्मेदवार विजयी भएका छन्।










