आजदेखि काठमाडौंका सबै स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र लिन सकिने
- पुस २५, २०७८
- 0
राष्ट्रिय परिचयपत्रको सेवा आजदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट पनि लिन सकिने भएको छ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आजदेखि काठमाण्डौका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने जनाएको हो।
गते मंसिर १ गतेदेखि राहदानी विभागले विद्युतीय राहदानी लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयबाट मात्रै सेवा दिँदा भीड बढेको थियो।
तत्कालका लागि बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर जिल्ला, कर्णाली र सुदूरपश्चिम प्रदेशका अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश–१, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसरमा नागरिकको विवरण प्रविष्टको लागि व्यवस्था गरिएको विभागका निर्देशक ललितकुमार बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ।
यति हुँदा पनि भीडभाड नहटेपछि सबै इलाका प्रशासन कार्यालय तथा स्थानीय तहहरुमा समेत लाइभ इनरोलमेन्ट हुनेगरी दर्ता स्टेशन थप गरिएको विभागले जनाएको छ।
विभागले हलसम्म झण्डै ५२ लाख नागरिकको वैयक्तिक तथा जैविक विवरण संकलन भइसकेको जनाएको छ।










