अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित १५ जना पदाधिकारी हुने माओवादी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव
- पुस ११, २०७८
- 0
नेकपा माओवादी केन्द्रको आइतबार बिहान बसेको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेश भएको छ ।
आज दिउँसो ३ बजे उद्घाटन हुने भनिएको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनको रुपमा स्वीकार गर्ने, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा २१ औं शताब्दीमा समाजवाद हाम्रो बाटो शीर्षकको प्रतिवेदन पेश गरिएको र विधानमा केही परिमार्जन गरी अध्यक्षसहित १५ जना पदाधिकारीको प्रस्ताव बैठकमा पेश भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । जसमध्ये राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने विषयमा सर्वसम्मतले स्वीकार भएको महराले बताए ।
आजदेखि पुस १५ गतेसम्म चल्ने महाधिवेशनमा छलफलपश्चात् पारित हुने पनि उनले बताए । माओवादी केन्द्रको पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव पेश भएको उनले बताए ।
यसैगरी, देशका सबै राजनीतिक दलहरुलाई पनि महाधिवेशनमा अतिथिका रुपमा उपस्थिति हुन निमन्त्रणा पनि गरिएको उनले बताए ।










