नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित

news-details

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन ।

मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणना बुधबार बिहान २ बजे सकिएको थियो ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र डा कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार महाधिवेशनमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ५ सय ६२ जनाले मतदान गरेका छन् । सोमबारको मतदानमा ४ हजार ६ सय ७९ प्रतिनिधिले मतदान गरेका थिए ।

सोमबार भएको निर्वाचनमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाएका थिए । उनले २२५८, निकटतम प्रतिद्वन्द्वी डा कोइरालाले १७०२ मत, प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

सभापति प्रत्यासी शेखर बाहेक प्रकाशमान, विमलेन्द्र र कल्याणले समर्थन गरेपछि देउवालाई जीतका लागि सहज भएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया