कांग्रेस महाधिवेशन : सभापति,सहमहामन्त्री र केन्द्रीय सदस्यसहित ५७ जनाले लिए उम्मेदवारी फिर्ता
- मंसिर २६, २०७८
- 0
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
आइतबार साढे १२ बजेसम्म काँग्रेसका २ पदापधिकारी र ५५ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन । त्यस्तै ५५ जना केन्द्रीय सदस्यले उम्मेदवारी फिर्ता लिएका छन ।
शनिबार महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।
नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ । यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएको थियो ।
उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।










