गोलाप्रथाबाट पेशी तोक्न सर्वोच्चमा आज ‘फुलकोर्ट’ बस्दै, सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास
- मंसिर ९, २०७८
- 0
सर्वोच्च अदालतमा आज (बिहीबार) पूर्ण बैठक (फुलकोर्ट) बस्ने भएको छ । गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नका लागि बैठक बोलाइएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेकका न्यायाधीशहरूबीच बुधबार भएको छलफलबाट बिहीबार ‘फुलकोर्ट’ बैठक राखेर गोला प्रथाबाट पेशी तोक्ने विषयमा निर्णय गर्ने सहमति भएको थियो । न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि गोला प्रथाबाट इजलास गठन गर्ने निर्णय पनि गरेको छ ।
गोला प्रथाबाट इजलास तोक्ने निर्णयसँगै १५ मंसिरबाट सबै मुद्दाको सुनुवाइ गर्ने सहमतिमा पनि उनीहरू पुगेका छन् । हाल न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।
यसैबीच आज विभिन्न पेशागत तथा नागरिक संस्थाहरूले गर्दै ‘बालुवाटार न्याय मार्च’ गर्ने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामथि तत्काल महाभियोगको प्रक्रिया अघि बढाउन माग संस्थाहरूले आज दिउँसो २ बजे सर्वोच्च सर्वोच्च अदालत गेटबाट बालुवाटारसम्म न्याय मार्च गर्ने भएका हुन् ।
मार्चमा सहभागी हुन नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले मंगलबार नै आह्वान गरेका थिए ।










