प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिदै, प्रदेशसभामा प्रस्ताव दर्ता
- कार्तिक २८, २०७८
- 0
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन ।
मुख्यमन्त्री राईले मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन । दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण उनले स्वकीय सचिवमार्फत प्रस्ताव दर्ता गराएका हुन ।
मंगलबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन राईले आज आइतबार प्रस्ताव दर्ता गराएका हुन । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए ।
९२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् ।
प्रदेश १ को प्रतिपक्ष नेकपा एमालेसँग ४० र राप्रपाका एक जना सांसद् छन् ।










