कांग्रेसले दसैँअघि हिमाली जिल्लामा अधिवेशन गर्ने, अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन

news-details

नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिका अनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।

कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमालीबाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ ।

मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ । ती जिल्लामा यही असोज ९ गते पालिका अधिवेशन हुँदैछ । तेह्र जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष यादव, सहमहामन्त्री प्रकाशशरण महत पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललगायतको उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया