कांग्रेसले  बाकी रहेको १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्यायो

news-details

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंग्याउन बाकी रहेको १३ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएको हो । केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालले कार्यदलले १३ वटै जिल्लाको क्रियाशील सदस्यता विवाद टुंग्याउने सहमति गरेको बताए।

सहमति कार्यान्वयनको जिम्मा क्रियाशील सदस्यता छानविन समिति सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीलाई दिइएको छ ।

प्रदेश २ का आठ वटा जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन। सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताए।

सबै जिल्लाको विवाद टुंगिएसँगै कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले बताएका छन् । ‘जहाँ ५ असोजमा वडा अधिवेशन हुन्छ, त्यहाँ कार्यतालिका अनुसार नै काम हुन्छ, जहाँ त्यो दिन भएन, अरु दिन भएपनि वडा अधिवेशन गराएर अगाडि बढ्छौं,’ उनले भने, ‘अब कार्यतालिका परिमार्जन हुँदैन ।’

उनका अनुसार बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ९ १ मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ भने निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ। क्षेत्र नं। ३ को कलैया उपमहानगरपालिकाका केही वडामा पनि नयाँ सदस्यता स्थगन गरिएको छ।

सप्तरीको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया सुरु हुनेछ। सर्लाहीको क्रियाशील सदस्यता टुंगिएर छपाइमा गइसकेको छ। रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद थियो। त्यहाँ अब सदस्यता थप गर्ने सहमति गरिएको छ।

धनुषा प्रतिनिधि सभा निर्वाचन क्षेत्र–४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ। त्यस्तै मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका –१ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने समझदारी भएको छ।

क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन्।

अहिले स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४ औं महाधिवेशनपछि प्रक्रिया पुर्‍याएर दिने कार्यदलले सहमति गरेको छ। धनुषाको निर्णय कार्यान्वयन गर्ने जिम्मा केन्द्रीय सदस्य आनन्द ढुंगाना र जीवन परियारलाई दिइएको छ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको छ। टीकापुर नगरपालिका–१ मा नयाँ सदस्यता स्थगन गरेर पुरानाबाटै अधिवेशन हुने सहमति भएको छ। नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा वडाले पेस गरेको सूची र क्षेत्रीय सभापतिले पेस गरेको सूचीमा विवाद देखिएपछि नवीकरणलाई मात्रै मान्यता दिइएको हो।

त्यस्तै नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका नेता मोहनसिंह राठौरलाई कांग्रेसको पुराना क्रियाशील सदस्यता संख्यामा शतप्रतिशतभन्दा नबढ्ने गरी कायम गर्ने समझदारी नेताहरुले गरेका छन्। कांग्रेस प्रवेश गरेका आशाराम चौधरीलाई १ सय २५ जना थप क्रियाशील सदस्यता दिने र समता पार्टीबाट बर्दगोरिया गाउँपालिकामा पाँच जना क्रियाशील सदस्यता थप गर्ने नेताहरुबीच सहमति भएको छ।

कैलालीको निर्णय कार्यान्वयनको जिम्मा नेताहरु जीवन परियार र योगेन्द्र चौधरीलाई दिइएको छ। बर्दियाको मधुवन नगरपालिका–३ मा अखण्ड नेपालबाट ३१ जनालाई क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ। डोल्पामा पनि विवाद मिलेको छ। राप्रपाबाट प्रवेश गरेका कर्णबहादुर बुढालाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय गरेकोमा समितिले जम्मा २ सय ५० सदस्यता स्वीकृत गरेको थियो।

वडा अधिवेशनमा समायोजनबाट आएका व्यक्तिले जितेमा क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ। कांग्रेसमा लामो समय क्रियाशील सदस्यता विवाद नटुंगिदा पटकपटक महाधिवेशनको मिति सर्दै आएको छ। १३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो समयमै नलाग्दा ५ गते ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने भएको छ।

३० भदौमा क्रियाशील सदस्यताको सूची प्रकाशित भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ। पालिका अधिवेशन ९ असोजमा हुने गरी मिति तय गरिएको छ।

यसअघि नै वडा अधिवेशन सकिएका ५७ जिल्ला तथा ५ गते वडा अधिवेशन हुने ७ जिल्लामा ९ गते पालिका अधिवेशन गर्ने निर्वचन समितिका सचिव रिजालले बताए। बाँकी १३ जिल्लाको वडा अधिवेशनको बारेमा भने भोलि पार्टीका शीर्ष नेताहरूसँग बसेर निर्णयमा पुग्ने उनले जानकारी दिए।

सातौंपटक संशोधन गरिएको कार्यतालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन १२ असोजका लागि तोकिएको छ। एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १५ असोज र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन १८ असोजमा हुने गरी सारिएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया