आज राष्ट्रिय बाल दिवस : जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व-राष्ट्रपति
- भदौ २९, २०७८
- 0
राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाईंदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।
यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बोच्च प्राथमिकताका बिषयहरु हुन् ।
बालबालिकाको प्रतिभालाई प्रस्फुटन गराई जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्वः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताउनुभएको छ ।
राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ ।










