एमालेले बनायो दश बुँदे कार्यान्वयन गर्न ७ सदस्यीय कार्यदल
- भदौ ८, २०७८
- 0
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार बसेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।
ललितपुरको च्यासलस्थित बसेको एमाले स्थायी कमिटीको बैठकले २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थाबाट नै केन्द्रीय कमिटीलगायत पार्टीको पक्षमा रहेका केन्द्रीय निकाय, प्रदेश र जिल्ला सबै तहका पदाधिकारी एवम् कमिटीहरु क्रियाशील गर्न निर्देशन दिइएको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
एमाले एकताका लागि तयार गरिएको दश बुँदे सहमतिपत्र कार्यान्वयनमा लैजान तथा पार्टीभित्रको विवाद समाधान गर्न ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुषाल, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, गोकर्ण विष्टलगायतका नेताहरुसहितको कार्यदल गठन गरिएको उनले बताए ।
जेठ २ लाई नै आधार मानेर पार्टीको सदस्यता नविकरण गर्ने तथा विभागहरुलाई पूर्णता दिने निर्णय एमालेले गरेको छ । आगामी असोज ४, ५ र ६ गते काठमाडौंमा विधान अधिवेशन गर्ने, मंसिर १०, ११ र १२ गते दस्तावेज तयार गर्न यसका लागि भदौ २७ र २८ गते बैठक बस्ने लगायतका निर्णयहरु एमाले स्थायी कमिटीले गरेको छ ।
कात्तिक ६ गते वडा महाधिवेशन, कात्तिक ९ गते गाउँ तथा पालिकस्तरको अधिवेशन, भदौ १६ गते जिल्ला कार्यकर्ता तथा संगठन भेला र भदौ १० गते केन्द्रीय कमिटीको बैठक गर्ने निर्णय गरेको छ ।










