एसकाजले मनायो १० औ वार्षिकोत्सव, खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
- साउन २३, २०७८
- 0
संखुवासभा काठमाडौँ जर्नालिस्ट एसोसिएशन (एसकाज) ले आफ्नो १० औ वार्षिकोत्सवसँगै दशौं साधारणसभा सम्पन्न गरेको छ ।
दशौं साधारणसभाले शंकर खनालको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा खनाल पुनः सर्वसम्मत भएका हुन् । उनले यसअघि पनि अध्यक्षको कार्यकाल पूरा गरिसकेका छन् ।
यस्तै कार्यसमितिको उपाध्यक्षमा उद्धव भट्टराई, महासचिवमा दिपेश श्रेष्ठ, सचिवमा द्वारिका काफ्ले र कोषाध्यक्षमा सुनिता पोख्रेल चयन भएका छन भने सदस्यहरुमा निमेशजंग राई, फणिन्द्र दाहाल, भिम देवान, सीता गिरी, कुलचन्द्र विष्ट, चन्द्र फुयाल, रेवन दाहाल, संगीता घिमिरे, आशिष राई र पर्वत विश्वकर्मा चयन भएका छन ।
१५ सदस्यीय कार्यसमितिका सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक दिपेन्द्र वान्तवाले जानकारी दिए । निवर्तमान अध्यक्ष हेमन्त गौतमले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरे ।
साधारणसभाले कोषाध्यक्ष र महासचिवद्वारा प्रस्तुत गत दुई आर्थिक वर्षको आर्थिक तथा प्रगति प्रतिवेदनलाई समेत पारित गरेको छ । २०६८ सालमा स्थापित एसकाज संखुवासभाबाट काठमाडौँ आई पत्रकारिता गरिरहेका पत्रकारहरू आवद्ध संस्था हो ।
नवनिर्वाचित अध्यक्ष खनालले एसकाजलाई अव नयाँ ढंगले अघि बढाउने प्रतिक्रिया दिदै संखुवासभाबाट काठमाडौमा आएर पत्रकारिता गर्नेहरुलाई थप एकतावद्ध गर्दै संखुवासभाको पत्रकारिता क्षेत्रको विकासमा लागिपर्ने बताए ।











