कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन
- साउन १९, २०७८
- 0
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।
ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमै बोलाएर आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै मन्त्री भुसालले प्राधिकरणका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजीनामा दिन भनेकी छन् ।
झण्डै एक वर्षअघि घिसिङको कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएर लगेको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।
लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लामो समय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए । त्यतिबेलै उनको पुनर्नियुक्ति हुनुपर्ने आवाज उठ्दै आएपनि ओली सरकारले नियुक्ति दिएको थिएन ।










