प्रम देउवालाई विश्वासको मत: पक्षमा १६५, विपक्षमा ८३ मत, ओली पक्षका सासंदद्धारा पनि पक्षमा मतदान
- साउन ३, २०७८
- 0
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।
आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।
एमालेका माधव नेपाल पक्षका केही सांसद तटस्थ बसेका थिए भने माधव नेपालसहित केही एमाले नेताले देउवालाई मत दिएका थिए ।
केपी ओली पक्षकै सांसदहरू प्रेसांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् ।
देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद
देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।
देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।










