संसद् अधिवेशन आज सुरु हुँदै

news-details

सर्वोच्च अदालतको परमादेश अनुसार सङ्घीय संसद्को अधिवेशन आजबाट शुरु हुँदैछ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुहुनेछ ।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आइतबार अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई पनि प्रक्रियामा लगिने छ ।

अघिल्लो वर्ष असार १८ गते स्थगित भएको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) एक वर्षपछि संयुक्तरूपमा आह्वान भएको छ ।

यसबीचमा दुईपटक भङ्ग गरिएकोमा दुवैपटक सर्वोच्च अदालतले विघटनलाई असंवैधानिक भन्दै प्रतिनिधिसभा स्थापित गरेको छ ।

कोभिड-१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला शुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया