एमाले १०औं महाधिवेशन आयोजक कमिटी खारेज, केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने
- असार १६, २०७८
- 0
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशन आयोजक कमिटी खारेज गरिएको छ । उक्त कमिटी खारेज भएलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाइएको छ।
आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। अबको केन्द्रीय कमिटीको बैठक शुक्रबार (असार १८ गते) बस्ने उनले जनाए।
बैठकले माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापासहित एमाले नेताहरू रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय पनि गरेको छ।
वरिष्ठ नेता झलनाथ खनालको उपचारको सम्पूर्ण जिम्मा पार्टीले लिने निर्णय भएको जनाइएको छ।
बैठकले कोरोना महामारी नियन्त्रण र बाढपिहिरो पहिरोजस्ता विपदमा उद्धार तथा राहतमा सरकारले गरेको कामको उच्च प्रशंसा गर्दै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने सरकारलाई अनुरोध पनि गरेको प्रवक्ता ज्ञवालीको भनाइ छ।










