बाढीको पूर्वानुमान : नदी तटिय क्षेत्र आसपासमा सतर्कता अपनाउन आग्रह

news-details

जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले आज कनकाई, कोशी, कमला, बागमती र त्यसका केही सहायक नदी तथा खोलाको आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा भने पानीको बहाव सामान्य बढ्ने जनाएको छ।

महाशाखाले शनिबार प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै‚ प्रदेश २ का बारा‚ धनुषा‚ सिरहा र सप्तरीमा रहेका नदी तथा खोला आसपासका बासिन्दालाई सचेत रहन बताएको छ। बागमती प्रदेशका रसुवा‚ सिन्धुपाल्चोक‚ रामेछाप‚ नुवाकोट‚ दोलखा‚ धादिङ‚ चितवन‚ मकवानपुर‚ काठमाडौं र सिन्धुलीका नदी तथा खोलाको बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका गोरखा‚ लमजुङ‚ म्याग्दी‚ बाग्लुङ‚ परासी र लुम्बिनी प्रदेशका नवलपुर‚ गुल्मी‚ पाल्पा‚ दाङका नदी तथा खोलाको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रेदशका जाजरकोट‚ दैलेख‚ कालीकोट‚ सल्यान‚ सुर्खेत‚ डोल्पाका नदी तथा खोलामा बहाव बढ्ने छ।

मौसम पूर्वानुमान महाशाखाले पनि आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको र सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया