सातै प्रदेशले आज बजेट ल्याउँदै, कोरोना महामारी नियन्त्रण, पूर्वाधार विकास र रोजगारी प्राथमिकतामा
- असार १, २०७८
- 0
सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ ।
सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि सोहीअनुसार हुनेछ ।
केन्द्रले प्रदेशलाई समानीकरणमा ५७ अर्ब ९५ करोड ४८ लाख, ससर्तमा ३५ अर्ब ८७ करोड ३१ लाख, विशेषमा चार अर्ब १५ करोड, समपूरकमा पाँच अर्ब ७२ करोड ४६ लाख गरी जम्मा एक खर्ब तीन अर्ब ७० करोड २५ लाख रकम छुट्याएको छ । यसका अतिरिक्त राजस्व बाँडफाँट र रोयल्टी बाडँफाँटबाट पनि प्रदेशलाई रकम जाने व्यवस्था गरिएको छ । यसैगरी प्रदेशको आफ्नै स्रोतबाट पनि राजस्व परिचालन हुन्छ ।
प्रदेश १ मा मङ्गलबार अपराह्न ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । सो बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रदेश २ को प्रदेश सभाको बैठक मङ्गलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । सो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने छन ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न मङ्गलबार अपराह्न ३ बजे बैठक बोलाइएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट प्रस्तुत गर्नेछन ।
गण्डकी प्रदेशमा सरकार परिवर्तनका कारण नीति तथा कार्यक्रम पारित गर्न र बजेट निर्माणमा समय कम भए पनि मङ्गलबार नै बजेट आउनेछ । मुख्यमन्त्री पोखरेलले सोमबार मात्रै नीति तथा कार्यक्रम पेस गरेका थिए र राति अबेर पारित भयो । मुख्यमन्त्री पोखरेलले नै मङ्गलबार बजेट पेस गर्नेछन ।
लुम्बनी प्रदेशमा आइतबार नीति तथा कार्यक्रम पारित भइसकेको छ भने मङ्गलबार अपराह्न ४ बजे प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
कर्णाली प्रदेशमा मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गर्नेछन ।
सुदूरपश्चिम प्रदेशमा मङ्गलबार अपराह्न ४ बजे प्रदेश सभामा आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।










