मन्त्रिपरिषद विस्तार, जसपाबाट उपप्रधानमन्त्रीसहित आठ मन्त्री र दुई राज्यमन्त्री थपिए

जसपाबाट महत्तोसँगै पौडेल र महासेठलाई पनि उपप्रधानमन्त्री बनाउने तयारी
news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षीय नेताहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नयाँ मन्त्रीहरुको शपथ आजै साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको प्रेस सल्लाहकार थापाको भनाई छ । विस्तारित मन्त्रीमण्डलमा जसपाबाट आठ मन्त्री र दुई राज्यमन्त्री गरी दश जना थपिएका छन ।

जसपाले वरिष्ठ नेता तथा संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

उपप्रधानमन्त्रीमा जसपाका राजेन्द्र महतोसँगै अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल र अर्का एमाले नेता रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री बनाउने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले बताएको छ ।

एमाले उच्च स्रोतका अनुसार एमालेबाट पनि केही मन्त्रीलाई बिदा गर्दै केही मन्त्रीहरु थप हुने भएका छन् ।

महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अनिलकुमार झालाई खानेपानी मन्त्रालय, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालय, विमल श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, एकवाल मियाँलाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय दिने सहमति बनेको जनाइएको छ ।

त्यस्तै, दुई राज्यमन्त्रीमा रेणुका गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठनागरिक र चन्द्रकान्त चौधरीलाई उर्जा तथा जलस्रोत राज्यमन्त्रीको जिम्मेवारी दिने तय भएको छ ।

नयाँ सहमतिसँगै वर्तमान मन्त्रीपरिषदमा कायम रहेका महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे मन्त्रालयविहीन भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया