नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय समाप्त, नयाँ प्रधानमन्त्रीमा ओली र देउवाको दाबी
- जेष्ठ ७, २०७८
- 0
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको दावी पेश गर्न दिएको समय समाप्त भएको छ ।
निर्धारित समय भित्र नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आ-आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीसहित विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भट्टराई-यादव पक्षका सांसद र एमालेका खनाल-नेपाल समूहका नेताहरूको हस्ताक्षरसहित देउवा शितल निवास पुगेका थिए।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन् ।
ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा आफूले र जसपाका ३२ सांसदको तर्फबाट संसदीय दलका नेता राजेन्द्र महतोले गरेको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।
दुवै पक्षले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । ढकालका अनुसार अध्ययनका लागि केही समय लाग्नेछ ।










