राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान, शुक्रबार साँझ ५ बजेसम्म दावी प्रस्तुत गर्नुपर्ने
- जेष्ठ ६, २०७८
- 0
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतप्राप्त वैकल्पिक सरकार गठनका लागि पुनः आव्हान गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने प्रष्ट पार्नुभएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार निर्माणको आज विहिबार आव्हान गर्नुभएको हो ।
त्यस्तो सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते शुक्रबार ५ बजेसम्मको समय प्रदान गरिएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रतिनिधि सभामा सबै भन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई गत वैशाख ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको थियो । उहाँले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम तीस (३०) दिन भित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने थियो ।
अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ ।
तर, आधार पेस गर्न नसकेमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ र नयाँ निर्वाचनमा मुलुक प्रवेश गर्ने छ ।
आज साँझ बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनुनहुने र उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।











