राष्ट्रियसभा सदस्य निर्वाचनमा ३३८ जनाद्वारा मतदान, नतिजा आजै आउने
- जेष्ठ ६, २०७८
- 0
राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि भएको मतदान सम्पन्न भएको छ ।
हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा विहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ३३८ जनाले मतदान गरेका छन् ।
बागमती प्रदेशको प्रदेश सभाका ११० सदस्य र ११९ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतदाता रहेका थिए । प्रदेश सभाका र स्थानीय तहका गरी ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता रहेका थिए ।
विवेकशील साझा पार्टीका तीन जना प्रदेश सभाका सदस्य मतदानमा सहभागी भएनन । बागमती प्रदेशको प्रदेश सभा सदस्य १०५ जना मतदानमा सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३३ जना सहभागी भए ।
नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार १८ रहेको छ ।
निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतगणना ४ः३० बजेबाट सुरु गरिने जानकारी दिए ।
कोभिड १९ सङ्क्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर निर्वाचन गराइएको थियो ।
उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा रहेका छन ।










