केपी ओली पुन: प्रधानमन्त्री नियुक्त, शुक्रबार सपथ
- बैशाख ३०, २०७८
- 0
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ भोली शुक्रबार हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको नेकपा एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
संविधानको धारा १०० को उपधारा १ अनुसार प्रतिनिधि सभामा विश्वासको मतका लागि गत वैशाख २७ गते राख्नुभएको प्रस्ताव पारित हुन नसकेपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनुभएको थियो ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई तीन दिनभित्र दिएको समयसीमामा कसैको पनि दाबी नपरेपछि प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओली प्रधानमन्त्री हुनुभएको हो ।
नवनियुक्त प्रधानमन्त्री ओलीले संविधानअनुसार एक महिनाभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ शुक्रबार साढे २ बजे तय भएको छ ।
२०७४ सालमा भएको प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी भएको एमाले संसदीय दलको नेता ओली २०७४ साल फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।










