गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ्ग पुनः नियुक्त, सपथ ग्रहण सम्पन्न

news-details

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ्ग पुनः नियुक्त भएका छन । उनलाई आजै प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको सपथ गराएकी हुन ।

यसअघि प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भए पछि गुरुङ्गले राजीनामा दिएका थिए । उनको राजिनामासँगै प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समय सीमाभित्र कांग्रेस, माओवादी र जसपासहितको विपक्षी गठबन्धले बहुमत जुटाउन नसकेपछि ठूलो दल एमालेको संसदीय दलका नेताको हैसियतमा गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन ।

गुरुङले अब ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

यसअघि आजै विपक्षी गठबन्धनले नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री दावी गर्दै दावी पत्र पेश गरेपनि गठबन्धनमा उल्लेख गरिएका राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफू तटस्थ रहने जनाएपछि दावी नपुगेको भन्दै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ३१ सङ्ख्या आवश्यक छ । जसमा नेकपा एमालेका २७ सांसद, स्वतन्त्र १, नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ ९सभामुखसहित०, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसद रहेका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया