प्रतिनिधिसभाका चार सांसद र संघीय संसद सचिवालयका दुई कर्मचारीमा कोरोना संक्रमण
- बैशाख २३, २०७८
- 0
बुधबार गरिएको पीसीआर परीक्षणमा प्रतिनिधिसभाका चार सांसदसहित संघीय संसद सचिवालयका दुई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संसद सचिवालयले जनाएको छ ।
कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा) का तीन र कांग्रेसका एक सांसद छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।
बुधबार सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरुको, संघीय संसद सचिवालयका कर्मचारीहरु तथा सभामुखको निजी सचिवालयमा कार्यरत कर्मचारीहरुसहित ६०९ जनाको स्वाव संकलत गरिएको थियो ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा आज पनि स्वाब संकलन गरिएको छ । आज केन्द्रमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु, संसदीय मामिला पत्रकारहरु, स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, ट्राफिक, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीहरु तथा बैठक सञ्चालनका लागि विभिन्न भूमिकामा रहेका सबैको स्वाव परीक्षण गरिने संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।










