कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने तीन जना पुनः मन्त्री, बागमती प्रदेशमा पनि मन्त्रिपरिषद् विस्तार
- बैशाख १५, २०७८
- 0
कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने तत्कालिन तीन सांसद पुनः मन्त्री भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराएका छन । बुढा उद्योग, पर्यटन, वन तथा वातावरण, थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाइएको छ ।
एमालेबाट निर्वाचित बुढा, थापा, शाही र प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै माओवादी केन्द्रका शाहीको सरकार जोगाइदिएका थिए ।
यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन ।
विस्तारित मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारीमा केशव पाण्डेलाई, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा सुरेश नेपाल, सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा सरस्वती बस्नेत र सामाजिक विकास राज्यमन्त्रीमा डा रामकुमार अधिकारीलाई सिफारिस गरिएको छ ।
विस्तारित मन्त्रीपरिषदमा सिफारिस चारैजनाको आजै शपथ हुँदैछ । माओवादी केन्द्र र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालय रिक्त थियो ।










