दाङ बस दुर्घटना : मृत्यु भएका दुवै जनाको सनाखत, घाइतेको उपचार हुँदै
- चैत्र २१, २०७७
- 0
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही-लमही सडकखण्ड अन्तरगत मुसोटमा भएको सवारी दुर्घटनामा लमही नगरपालिका-९ पैते निवासी २९ वर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी २८ वर्षका यादव खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घोराहीबाट लमहीतर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुवाहक बस शुक्रबार बेलुका ५ बजेतिर घोराही-मसोटको ओरालोमा दुर्घटना भएको थियो । ओरालोमा बसको ब्रेकफेल हुदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
यात्रुबाहक बस कारलाई ओरालोमा ठक्कर दिएर अनियन्त्रीत हुँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा २८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये छ जना मध्यम, दुई जना गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
गम्भीर दुईजनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ भने छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस ब्रेब फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।










