घाँस काट्न गएका महोत्तरीका सातजना बालिका र किशोरी सम्पर्कविहीन

news-details

घाँस काट्न गएका महात्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना बालिका र किशोरी सम्पर्कविहीन भएका छन् ।

मंगलबार दिउँसो करिब १ बजे घाँस काट्न निस्किएका उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

सम्पर्कविहीन बालिका र किशोरीको रातिदेखि नै खोजी कार्य सुरु गरिएको आचार्यले बताए । भर्खरै अनुसन्धान सुरु गरिएकाले अहिले नै घटनाबारे केहि बोल्ने नमिल्ने उनको भनाइ छ।

भंगाहा नगरपालिकाका प्रमुख संजिवकुमार साहका अनुसार ती बालिका र किशोरी एउटै टोलको हुन् । उनीहरू प्रायस् समूहमै घाँस काट्न चौरमा जाने र साँझसम्म घर फर्किहाल्ने भए पनि हिजो भने नफर्किएको उनले बताए।

घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको पूर्वपट्टीको चौरमा उनीहरूलाई स्थानीयले दिउँसो घाँस काट्दै गरेको अवस्थामा देखेका नगरप्रमुख साहले बताए ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया