सरकार र थरुहट पक्षबीच पहिलो चरणको वार्ता सम्पन्न, अर्को वार्ता बिहीवार हुने

news-details

सरकार र थरुहट-थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीचको पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

गृह मन्त्रालयमा आज दिउँसो दुई पक्षबीच भएको वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः हुने निर्धारण भएको वार्ता टोलीका सदस्य तथा थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको जानकारी दिए । सरकारका वार्ताटोली सदस्यले मागपत्र बारे आज र भोलि अध्ययन गर्ने र पर्सि पुनः वार्तामा बस्ने छलफल भएको उनले जानकारी दिए ।

सरकारले सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा तीन सदस्यीय वार्ताटोली गठन गरेकोमा थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज मंगलबार बिहान पूर्व सांसद रुक्मिणी चौधरीको संयोजकत्वमा पाँच सदस्यीय बार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।

सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेका छन । यस्तै थारु कल्याणकारिणी सभाद्वारा गठित वार्ता टोलीमा थाकसका महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया