बागलुङमा होली विवादमा मृतक भएका दुई युवाको शव अस्पताल पु-याइयो, दोषीलाई कारवाही गर्न कांग्रेसको माग

news-details

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा दुई समूहबीच भएको झडपमा मृत्यु भएका दुई युवाको शव पोस्टमार्टमको लागि बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा आइतबार होेली खेल्ने युवा समूहबीच झडप हुँदा निसीखोला–७ का अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाईको मृत्यु भएको थियो ।

झडपमा सहभागी युवाले कुटपिटपछि दुवैजनालाई भीरबाट खसालेका थिए । घटनाको मुचुल्का तयार गरी दुवै जनाको शव पोस्टमार्टम गर्न स्वास्थ्य संस्था पठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । दुई जनाको मृत्यु भए पनि अन्यको हताहती नभएको उहाँले बताउनुभयो । अन्य कोही पनि सम्पर्कविहिन नभएको जानकारी दिँदै उहाँले घटनाबारे अनुसन्धान सुरु भएको बताउनुभयो ।

त्यस्तै, नेपाली काँग्रेसले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई अबिलम्ब पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको हो ।

काँग्रेस जिल्ला सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमला गरी योजनाबद्ध रुपमा हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया