श्रीनगर र वनेदेवी डाँडामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन, स्थानीय त्रसित

news-details

पाल्पाको श्रीनगर डाडाँ जंगलमा हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । हिजो दिउँसो पूर्वतर्फको भुषलडाडाँ नजिकैबाट सल्किएको आगो अहिले लायन्स आखा अस्पताल तर्फ पुगेको प्रहरीले जनाएको छ। बस्ती नजिकै आगो सल्किएको र निभाउन समेत नसकिने भएकाले स्थानीय त्रसित भएका छन् ।

ठूलो क्षेत्रफल ओगटेर हावासहितको आगो लागेको हुँदा निभाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो । यद्यपि प्रहरीको टोली भने रातभर निगरानीमै रहेको प्रहरीले जनाएको छ ।

बस्ती नजिकमा आगो सल्किने त्रासका कारण श्रीनगर छेउका स्थानीय रातभर जागराम बस्नु परेको स्थानीय मधुसुजन भट्टराईले बताउनुभयो ।

यस्तै तानसेनकै अप्पुभिलेज नजिककै बनदेवी जंगल क्षेत्रमा समेत रातीदेखि आगलागी भएको छ । तानसेन रिडी सडकखण्डको छेउमा पर्ने उक्त जंगलमा ठूलो मात्रामा आगो सल्किएर बस्ती नजिक पुगेको हुँदा स्थानीय त्रसित भएका छन् ।

तानसेन नगरपालिकामा एउटामात्र दमकल रहेको हुदाँ दुईतर्फी लागेको आगो बस्तीमा सल्कियो भने निभाउन समस्या हुने भन्दै स्थानीय त्रसित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया