माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय, अध्यक्ष झनै शक्तिशाली !
- चैत्र ७, २०७७
- 0
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकले चार जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
शनिबार बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यस्तै बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टी अध्यक्षलाई पार्टी नेता, कार्यकर्ताहरुको मनोनयन, कारवाही गर्ने अधिकार तथा अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गरिने सबै काम अख्तियारी गर्ने पनि प्रत्यायोजन गरेको छ । यसले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाएको छ ।
सोहीअनुसार केन्द्रीय कमिटी बैठकले संसदीय दलको विधान संशोधनसहित अनुमोदन गरेको छ । विहान बसेको संसदीय दलको बैठकमा सहभागी भएका नेता बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भने सहभागी भएनन ।
केन्द्रीय कमिटी बैठक जारी छ । बैठकले विभिन्न दश बुँदे निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।










