खनाल-नेपाल समूहले बनायो समानान्तर कमिटी, चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आव्हान

news-details

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहको केन्द्रीय समिति बैठकले पार्टीमा समानान्तर कमिटी बनाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाल पक्षलाई थाहै नदिई सो समूहमा रहेका नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले समानान्तर कमिटी बनाएको हो ।

ओली समूहले पदाधिकारी हटाउने, नयाँ महाधिवेशनको मिति घोषणा गर्ने लगायतका निर्णय गरेको थियो । त्यसपछि खनाल-नेपाल समूहले देशभर समानान्तर समिति बनाउने तयारी स्वरुप आफू पक्षीय नेताहरुलाई प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।

शंखमुलस्थित एक क्याफेमा बसेको केन्द्रीय समिति बैठकले पार्टी कामको संयोजनका लागि भन्दै नेताहरुलाई जिम्मेवारी तोकेको हो ।

नेपाल समूहले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूर पश्चिम प्रदेशमा भीम रावललाई पार्टी कामको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

त्यस्तै महिला विभागको जिम्मेवारी अष्टलक्ष्मी शाक्य, प्रचारको योगेश भट्टराई, विद्यार्थीको गोकर्ण विष्ट, युवाको रघुजी पन्त र बुद्धिजीवीको संयोजन गर्ने जिम्मा प्रमेश हमाल दिइएको छ ।

राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

खनाल-नेपाल पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ । शनिबार शँखमुलस्थित एक बैंक्वीटमा छलफल गर्दै सो निर्णय भएको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक चैत ७ गते आव्हान गरेका बेला सो पक्षले बैठक अगावै दुई दिने भेला गर्ने तयारी गरेको हो । कार्यकर्ता भेलामा आफू निकटको केन्द्रीय सदस्यहरु, संघीय सांसद, प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहने नेता रावलले बताउनुभयो ।

उहाँकाअनुसार भेलामा जनवर्गीय संगठनका प्रतिनिधि, पेशागत, महिला लगायतको सक्रिय सहभागिता रहने र भेलाले महत्वपूर्ण निर्णय गर्ने नेता रावलले बताउनुभयो । शुक्रबार बालुवाटारमा भएको निर्णय आफूहरुले नमान्ने नेता रावलले बताउनुभयो । आफूहरुले पार्टीभित्र समानान्तर कमिटी नबनाएको तर पार्टीको कमिटीलाई पुनरजीवित र सक्रिय मात्र बनाएको नेता रावलले दावी गर्नुभयो ।

कार्यकर्ता भेला लगत्तै राष्ट्रिय महिला कार्यकर्ताको पनि भेला गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया