बादलसहितका मन्त्रीलाई सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन,स्थायी समिति बैठक आज बस्दै
- फाल्गुन २९, २०७७
- 0
नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीकोतर्फका मन्त्रीहरुलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ ।
शनिबार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा नफर्किएका मन्त्रीहरुलाई यस्तो निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादीको तर्फबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन् ।
यसैबीच नेकपा माओवादी केन्द्रले आजै स्थायी समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।
बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार बनाउने विषयमा छलफल हुनेछ । ओली सरकार विस्थापन गर्नका लागि कांग्रेस र जसपासँग माओवादी केन्द्रले यसअघि नै छलफल गरिसकेको छ ।
दुबै दल ओली सरकारलाई छिटो हटाउनुपर्नेमा सहमत रहेका छन । बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेण्डा तय गर्ने बताइएको छ ।
त्यस्तै एमालेमा गएका नेतालाई कारवाहीको निर्णय पनि बैठकले गर्नेछ । माओवादी केन्द्रले पार्टीको नाम समेत परिवर्तन गर्ने तयारी गरेको छ ।










