सरकार र विप्लव समुहबीच आज पनि वार्ता हुँदै, नेता-कार्यकर्ता पक्राउ नगर्न सरकारको निर्देशन

news-details

नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता हुँदैछ । हिजो तीन पटक भएको वार्ता सकारात्मक रहेकोले आज पनि वार्ता हुन लागेको हो । हिजोको अन्तिम वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको थियो ।

यसअघि दुई पटकको वार्ता प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । हिजोको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको दाबी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले गर्नुभयो ।

वार्तामा सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समुहको तर्फबाट खड्गबहादुर विश्वकर्माले नेतृत्व गरिरहनुभएको छ ।

वार्तामा सरकारी टोलीले विप्लव समुहलाई सम्पूर्ण रुपले हिंसा त्यागेको प्रतिबद्धता जनाउँदै आफुसँग भएको हतियार बुझाउन आग्रह गरेको छ ।

विप्लव समुहले भने आफुसँग कुनै प्रकारको हतियार नभएको दावी गरेको छ । यसैगरी विप्लव समुहले आफुमाथिको प्रतिबन्ध हटाएर जेलमा रहेको नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्त अघि सारेको छ ।

सकेसम्म वार्तालाई आजै निष्कर्षमा पु¥याउने तयारी दुबै पक्षले गरेका छन् ।

यसैबीच विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।

विप्लव समूहसँग वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो ।

वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिनुभएको थियो ।

सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएपछि प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई जहाँ भेट्यो त्यही पक्राउ गर्ने नीति लिएको थियो ।

विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया