सरकारले ‘अभिव्यक्ति स्वतन्त्रता’लाई कुण्ठित गर्न खोजेको भन्दै काँग्रेसको आपत्ति

news-details

नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकलाई ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा ब्युँताउन खोजिएको भन्दै आपत्ति जनाएको छ । सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको कांग्रेसले आरोप लगाएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक संजाल लाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमति नहुने र त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान रहेको बताएका छन् । उनले थप व्यवस्था आवश्यक भए वृहत्तर विमर्श बेगर संसद विघटन भएको समयमा निर्देशिका मार्फत् जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको टिप्पणी गरे ।

विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्नेगरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइदैन।’ प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेसमेत जनाइएको छ ।

सामाजिक संजालमा व्यक्त मतलाई सरकारी आबेगले कारबाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको संज्ञा दिँदै कांग्रेसले यसविरुद्ध युवा पुस्तालाई सजक बन्ने समेत अपिल गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया