संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ
- माघ २१, २०७७
- 0
संवैधानिक परिषद्को बैठकले नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीले आज शपथ लिएका छन ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शिफारिस भएका पदाधिकारीलाई नियुक्ति दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाएको राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको सहभागिता थियो ।
प्रधानन्यायाधीश जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् भने सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाएका थिए ।
परिषद्को गत मङ्सिर ३० र पुष ५ गतेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत ११ संवैधानिक निकायमा ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सुनुवाइको सामना गर्नु परेन। संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए। आफूसँग छलफल नै नगरी फिर्ता पठाएको भन्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले असन्तुष्ट व्यक्त गरेका थिए।










