संसद् विघटनविरुद्धका रिटको आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

news-details

संसद् विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । रिटका विषयमा आजको पेशीमा अन्तरिम आदेशका बारेमा बहस हुनेछ ।

साथै पछिल्लो सुनुवाइ कहिले गर्ने भन्ने निर्णय हुनेछ । अदालतले अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्नेबारे पनि टुङ्गो गर्न सक्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बुधबार विघटनविरुद्ध परेका १२ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । अधिवक्ता सन्तोष भण्डारीले दर्ता गरेको अर्को रिट पनि संवैधानिक इजलासमै छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको पाँच सदस्यीय संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन् ।

इजलासका सबै न्यायाधीश कुनै विषयमा एकमत हुन नसके बहुमत न्यायाधीशको रायलाई अन्तिम निर्णय मानिने व्यवस्था संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावलीले गरेको छ ।

संवैधानिक इजलासले गरेको मुद्दाको आदेश वा फैसला अन्तिम हुने र त्यस उपर पुनरावलोकनको निवेदन दर्ता गर्न नपाउने पनि नियमावलीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न असहयोग भएको कारण देखाउँदै प्रतिनिधिसभा विघटन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया