प्रचण्ड–माधव नेपाल समूहको निर्णय : नेपाललाई अध्यक्ष तथा महरालाई स्थायी कमिटी सदस्यमा चयन
- पुस ७, २०७७
- 0
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहको आज बबरमहलमा भएको बैठकले पार्टी अध्यक्षमा माधवकुमार नेपाललाई र स्थायी कमिटीको सदस्यमा कृष्णबहादुर महरालाई चयन गर्ने निर्णय गरेको छ ।
पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर हटाउने निर्णय गरेपछि रिक्त अध्यक्ष पदमा माधव कुमार नेपाललाई चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको कदम निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम भएको बैठकले निष्कर्ष निकालेको बताउदै प्रवक्ता श्रेष्ठले आजको बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएकोसमेत जानकारी दिएका छन ।
बैठकमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीलाई कमजोर बनाउन खोज्ने विरुद्व एकजुट भएर अगाडि बढने प्रतिवद्धता जाहेर गरेको उनले जानकारी दिए ।
आज दिउसो २ बजेबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा प्रचण्ड–माधव नेपाल समूहको बैठक बसेको थियो । अर्को बैठक पुस ९ गते ११:३० बजे पुन बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।










