स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, छानबिनको जिम्मा अख्तियारलाई
- पुस ३, २०७७
- 0
संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाएर छलफल गरेपछि लेखा समितिले यस्तो निर्णय गरेको हो ।
समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत खरिद प्रक्रियामा त्रुटि रहेको बताएको र महँगो मूल्यमा सामान किन्न जिम्मेवारी दिइएको र सामानमा गुणस्तर समेत नभएको भन्दै स्वास्थ्य सेवा विभागले नै खरिद प्रक्रिया रद्द गरेको अवस्थामा यसमा थप छानबिन गर्नुपर्ने निष्कर्ष लेखाको रहेको छ ।
बैठकमा उपस्थित स्वास्थ्यमन्त्री ढकालले भने हाहाकार भएकाले तत्काल सामग्री मगाउनु परेको भन्दै ओम्नी समूहले सामान ल्याउन नसकेपछि सम्झौता रद्द गरेर धरौटीसमेत जफत गरेकाले भ्रष्टाचार भयो भन्नु गलत भएको जिकीर गर्नुभयो ।
सदस्यहरु मीनेन्द्र रिजाल, राजन केसी, प्रदीप यादव लगायतले थप छानविनका लागि अख्तियारलाई लेखी पठाउने निर्णय गर्नुपर्ने बताए पनि सांसद प्रेम आलेले भने यो प्रकरणमा राज्यकोषबाट कुनै खर्च नभएको र ठेकेदार कालोसूचीमा परिसकेको अवस्थामा थप कारबाही गर्नु आवश्यक नभएको बताउनुभएको थियो ।
दोषी पत्ता लगाएर कारबाही गर्न अख्तियारलाई निर्देशन दिएलगत्तै ९ महिनादेखि लेखा समितिमा चल्दै आएको स्वास्थ्य सामग्री खरिद प्रकरणको बहस सकिएको छ ।
स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा ओम्नी बिजेनस कर्पोरेट इन्टरनेसनल (ओम्नी समूह) सँग सम्झौता गरेको थियो ।
सम्झौता अनुसार ओम्नी समूहले १६ गते पहिलो लटमा महँगोमा सामान ल्याए पनि थप सामग्री ल्याउन नसकेपछि १९ चैतमा सम्झौता रद्द गरिएको थियो ।










