गुल्मीमा जीप दुर्घटना : मृतकको संख्या ६ पुग्यो
- मंसिर १२, २०७७
- 0
गुल्मीमा जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै र थप एकजनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।
जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा इस्मा गाउँपालिका–४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० बर्षका सुन्दरी थापाको घटनास्थलमै र गुल्मी अस्पतालमा उपचाररत १९ वर्षीय फर्सुराम थापाको मृत्यु भएको हो ।
दुर्घटनामा इस्मा गाउँपालिका ४ हुलकै २८ वर्षीया सरस्वती दर्लामी र सहचाक २५ वर्षका कमल हितान घाइते भएका छन् । चालक वुद्ध बस्नेत भने सकुसल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।
शुक्रवार बिहान इस्माबाट तम्घास आउदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
-तस्वीरः अनिल खत्री










