पूर्व सांसद वीरबहादुर लामाको निधन
- कार्तिक २३, २०७७
- 0
पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।
दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको आज विहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन् ।
२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए ।
२०६२–०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए । लामा जिबिसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य लामा एक थिए ।
मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरुले पार्टी छाडेका थिए ।










