बहराइनपछि कतारका राजकुमारसहितको टोली हिमाल चढ्न आधार शिविरमा
- रोजगारमञ्च
- कार्तिक १७, २०७७
- 0
बहराइनका राजकुमार हिमाल आरोहण गरेर फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् ।
राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगिसकेको छ । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली आधार शिविर पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जनाएका छन् ।
कतारको राजकुमारसहितको टोली हिमाल आरोहणका लागि दसैंको टिकाको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । मौसमले साथ दिएमा राजकुमार सहितको टोलीले दुई हप्ताभित्र आरोहण सम्पन्न गरेर काठमाडौं फर्किसक्नेछ ।
सोलुखुम्बु जिल्लामा अवस्थित ६ हजार ८ सय १२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।
यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले २९ असोजमा ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले १७ असोजमा ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो । अहिले हिमाल आरोहणको सिजन हो ।











