जोरविजोर प्रणाली उल्लङ्घन गर्ने बढे, चेकजाँच कडा बनाइँदै
- अशोज १३, २०७७
- 0
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्यासँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलबारबाट जोर–बिजोर प्रणालीमा थप कडाई गरिएको छ ।
उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो बनाउने रणनीति अनुरुप भदौ महिनाको २५ गतेबाट सवारी साधनमा जोर–विजोर लागू भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोर–विजोर सवारी सञ्चालन सम्वन्धि नियमको पालना भएनभएको अनुगमन तथा कारवाहीमा तिब्रता दिएको बताए ।
उपत्यकाको मुख्य सडकचोकहरूमा ट्राफिक प्रहरीको जनशक्ति पनि बढाइएको छ । जोर– बिजोर प्रणालीको पालना नगर्ने सवारी साधनहरूलाई साँझ ८ वजेसम्मलाई सडकमै ‘होल्ड’मा राखिने जानकारी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ढकालले दिएका छन ।
ट्राफिक प्रहरी महाशाखाले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले जोर– विजोर यातायात सेवा सञ्चालन गर्न सर्वसाधारणमा आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन र सर्वसाधारणको भीड बढ्दै गएको छ ।










