खोप आए पनि कोरोनाबाट २० लाख मानिसको मृत्यु हुनसक्छ : डब्ल्यूएचओ
- अशोज १०, २०७७
- 0
विश्वव्यापी महामारी कोरोना भाइरसविरुद्ध विभिन्न खोप निर्माण भएको तथा परीक्षणका क्रममा रहिरहेका बेला मानिसमा नयाँ आशा जागिरहँदा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भने २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।
युरोपमा सङ्क्रमणको नयाँ लहर देखा परिरहेका बेला डब्ल्यूएचओको उक्त चेतावनी बाहिर आएको हो । यद्यपि डब्ल्यूएचओको गतिविधिबारे सर्वत्र आलोचना भइरहँदा यो अभिव्यक्ति पनि आलोचनारहित नहुने अनुमान गर्न सकिन्छ ।
कोरोना भाइरसविरुद्ध खोप प्रभावकारी रूपमा प्रयोगमा आउनुअघि विश्वभरि कोभिड–१९ सँग सम्बन्धि कारणले ज्यान गुमाउने मानिसको सङ्ख्या २० लाख नाघ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको हो ।
बीबीसीले प्रकाशित गरेको समाचार अनुसार डब्ल्यूएचओका आपतकालीन मामिलाका प्रमुख डा माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएका हुन् ।
गत वर्षको अन्त्यमा चीनमा कोभिड–१९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १० लाख पुग्न लागेको छ ।
सङ्क्रमितहरू बढ्ने क्रम जारी रहँदा अहिलेसम्म विश्वभर ३ करोड २० लाखभन्दा बढी मानिसमा संक्रमण देखिसकिएको छ । हिउँद आउन लाग्दा उत्तरी गोलार्धका थुप्रै देशमा सङ्क्रमणको दोस्रो लहर सुरु हुन लागेको डब्ल्यूएचओको अनुमान छ ।
माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना रहेको उनको भनाइ छ । उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको पनि बताएका छन् ।
‘सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छ’, उनले भनेका छन् ।










