निषेधाज्ञा खुकुलो पार्दै सवारीमा जोरविजोर र नाकामा सेना खटाउन नगरपालिका फोरमको सुझाव
- भदौ २३, २०७७
- 0
काठमाडौँ उपत्यकाको नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्न माग गरेको छ । काठमाडौँमा आज बसेको फोरमको बैठकले सार्वजनिक यातायातबाहेकको सवारी सञ्चालनमा जोरविजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ ।
निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ भित्रिने र बाहिरिने नाकाको आवागमनमा थप कडाई गर्नसमेत सरकारलाई सुझाव दिएको छ ।
नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले नाकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने फोरमको निष्कर्ष रहेकोसमेत उहाँले जानकारी दिनुभयो । यस्तै फोरमले विहिबारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
सरकारले स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
-रासस










