कोरोना संक्रमणका कारण बुधबार साझ यता मात्र ८ जनाको मृत्यु

news-details

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्र ७ जनाको मृत्यु भएको छ ।

संक्रमणका कारण वीरगञ्जमा चार जना, ललितपुरमा दुई जना, पोखरामा एक जना र बुटवलमा एक जनाको ज्यान गएको हो ।

वीरगञ्जस्थित दुई वटा अस्पतालमा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा तीन जना कोरोना संक्रमित रहेका छन् भने एक जनाको शंकास्पद मृत्यु भएको छ ।

हिजो साँझ ६ बजेदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

हिजो साँझ नारायणी अस्पतालमा धोबिनी–३ का ७२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो ।

यस्तै हिजै राति ८ बजे रौतहट, राजदेवी नगरपालिका मुडवलबाका ८० वर्षीय वृद्धको शंकास्पद मृत्यु भएको थियो ।

त्यसैगरी, आज बिहान बारा, हर्दिया ४ की २३ वर्षीया गर्भवती महिला संक्रमितको मृत्यु भएको छ ।

तीनै जनाको नारायणी अस्पतालमा मृत्यु भएको हो भने एक जनाको आज वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगञ्ज १४ बहुअरीका ६२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । चार जनामध्ये पर्साका २, बाराका एक र रौतहटका एक जना रहेका छन् ।

रौतहटका ८० वर्षीय वृद्धको कोरोना रिपोर्ट आउन बाँकी रहेको छ भने बाँकी तीन जनामा कोरोना संक्रमण पुष्टि भएर उपचार भइरहेको थियो ।

त्यसैगरी ललितपुरको पाटन अस्पतालमा उपचाररत एक ६५ वर्षीया कोरोना संक्रमितको पनि मृत्यु भएको छ । उनी भक्तपुर बालकोट निवासी भएको बताइएको छ । आइसीयूमा उपचाररत उनको आज मृत्यु भएको हो ।

यस्तै ललितपुरकै किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो । पाठकका अनुसार ति पुरुषको स्थायी घर अर्घाखाँची हो भने केही समयदेखि काठमाडौंको तारकेश्वर नगरपालिका–११ मा बस्दै आएका थिए ।

बुटवलको धागो कारखानामा सञ्चालित बुटवल कोरोना विषेश अस्पतालमा पनि एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–२ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको भदौ ५ गते कोरोना पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेहको बिरामी भएको अस्पतालले जानकारी दिएको छ ।

त्यसैगरी पोखरामा पनि एक ३२ वर्षीय महिलाको संक्रमणका कारण मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड १९ केन्द्रको आइसियूमा उपचार भइरहेकी पोखरा महानगरपालिका ११ की ३२ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको आज बिहान मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया